भ्रष्टाचारमुक्त समाज निर्माणको संकल्पबाट विचलित हुनुहुँदैन : प्रदेश प्रमुख कर्ण

176 Shares

काठमाडौं । मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने संकल्पबाट कहिल्यै विचलित हुनु नहुने बताउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा बुधबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख कर्णले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूले आफ्नो जिम्मेवारीलाई सेवाभावका रूपमा बुझ्नुपर्ने बताउनुभयो ।

उहाँले जनप्रतिनिधि र सरकारी कर्मचारीहरूले पदीय मर्यादाभित्र रहेर जनसेवालाई आत्मसात गर्दै काम गरे भ्रष्टाचारको जरो आफैँ उखेलिने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने संकल्पमा हामी कहिल्यै विचलित हुनुहुँदैन । पद र शक्तिको मोहमा परेर आफ्नो कर्तव्य र मर्यादाबाट विमुख हुनु नै सबैभन्दा ठूलो विचलन हो ।”

राजर्षी जनकको दर्शन उल्लेख गर्दै उहाँले पदलाई अधिकारको साधन नभई पवित्र जिम्मेवारीका रूपमा ग्रहण गर्नुपर्ने धारणा राख्नुभयो । “जब कर्मचारी वा जनप्रतिनिधिले सरकारी कुर्सीलाई अधिकारको डण्डा नभई जनताको नासोका रूपमा स्वीकार गर्छ, तब मात्रै भ्रष्टाचारको जरो उखेलिन्छ,” उहाँले भन्नुभयो ।

प्रदेश प्रमुख कर्णले सार्वजनिक पदमा बस्ने प्रत्येक व्यक्तिले आफू सेवा गर्न आएको हो, निजी लाभका लागि होइन भन्ने सोच आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो । साथै, राज्यको स्रोत–साधनलाई जनताको सम्पत्ति ठानी संरक्षण गर्नु सबै राष्ट्रसेवकको कर्तव्य भएको उहाँको भनाइ थियो ।

उहाँले पद र शक्तिको मोहमा परेर मर्यादाबाट विमुख हुने छुट कसैलाई पनि नभएको स्पष्ट पार्नुभयो ।