नेपाली कम्युनिस्ट पार्टीको चुनावी प्रतिवद्धता: समृद्धि, रोजगारी र सामाजिक न्यायमा केन्द्रित

40 Shares

काठमाडौं । आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि २२ वटा कम्युनिस्ट तथा समाजवादी घटकहरूको एकीकरणबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ।

‘तारा’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएको पार्टीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मूल नाराका साथ स्वाधीन र समृद्ध नेपाल निर्माणको मार्गचित्र प्रस्तुत गरेको छ। प्रतिवद्धता पत्रमा राजनीतिक स्थिरता, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायलाई समृद्धिको प्रमुख आधार स्तम्भको रूपमा राखिएको छ।

पार्टीले शासकीय संरचनामा सुधार गर्दै मन्त्रिपरिषद्को आकार घटाउने, निर्वाचन प्रणालीलाई कम खर्चिलो बनाउने, र उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरी भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रतिज्ञा गरेको छ।

आर्थिक क्षेत्रमा आगामी पाँच वर्षभित्र दोहोरो अंकको वृद्धिदर हासिल गर्ने र वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। कृषि क्षेत्रको आधुनिकीकरणका लागि ‘कृषि लगानी दशक’ घोषणा गर्ने, भूमिहीन सुकुम्वासी समस्या समाधान गर्ने, तथा स्वास्थ्य र शिक्षामा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने विषयमा पनि पार्टीले विशेष प्राथमिकता दिएको छ।

प्रतिवद्धता पत्रअनुसार, महिलालाई पैतृक सम्पत्तिमा समान अधिकार, दलित समुदायका लागि विशेष अधिकार, र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मताधिकारको व्यवस्था मिलाउने प्रतिवद्धता पनि राखिएको छ।

परराष्ट्र नीतिमा असंलग्न कूटनीति पालन गर्दै राष्ट्रिय हित र सार्वभौमिकताको रक्षा गर्ने कुरामा पार्टीले जोड दिएको छ।