बजेटको आकार नघटेको अर्थमन्त्री खनालको स्पष्टोक्ति

42 Shares

काठमाडाैं । अर्थमन्त्री रामेश्वर खनालले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटको आकार नघटेको स्पष्ट पार्नुभएको छ । बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै उहाँले कुल बजेट १९ खर्ब ६४ अर्ब रुपैयाँ नै कायम रहेको जानकारी दिनुभयो ।

सरकारी निकायहरूले खर्च गर्ने क्षमता देखाएमा सो रकम उपलब्ध हुने बताउँदै उहाँले बजेट परिचालनमा भने चुनौती रहेको स्वीकार गर्नुभयो । हाल सरकारको सञ्चित कोषमा करिब १३० अर्ब रुपैयाँ घाटा रहेको उल्लेख गर्दै आवश्यक परे प्राथमिकताका आधारमा खर्च व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

अर्थमन्त्री खनालका अनुसार तयारी अवस्थामा नरहेका र तत्काल राम्रो प्रतिफल नदिने देखिएका ११९ अर्ब रुपैयाँ बराबरका आयोजना प्रारम्भिक मूल्यांकनपछि स्थगित गरिएको छ । ती आयोजना तयारी अवस्थामा पुगेपछि टेण्डर प्रक्रिया अघि बढाएर पुनः बजेट फुकुवा गर्ने नीति रहेको उहाँले स्पष्ट पार्नुभयो । हालसम्म करिब ४२ अर्ब रुपैयाँ बराबरका आयोजना फुकुवा भइसकेका छन् ।

पुँजीगत खर्चको अवस्था सन्तोषजनक नरहेको स्वीकार गर्दै उहाँले राष्ट्रिय गौरवका आयोजनामा विनियोजित ६७ अर्ब रुपैयाँमध्ये हालसम्म १५ प्रतिशतभन्दा अलिकति बढी मात्र प्रगति भएको जानकारी दिनुभयो ।

सरकारको प्रारम्भिक २–३ महिना राजनीतिक संक्रमण व्यवस्थापन, निर्वाचन तयारी र दलहरूबीच समझदारी कायम गर्न केन्द्रित भएकाले पुँजीगत खर्चमा अपेक्षित ध्यान दिन नसकिएको उहाँको भनाइ छ ।

स्वास्थ्य बीमासम्बन्धी दायित्वबारे बोल्दै अर्थमन्त्री खनालले सरकारले कार्यक्रम सुरु गरेपछि दायित्व चुक्ता गर्नुपर्ने धारणा राख्नुभयो । तर वर्षको बीचमा बजेट सिलिङभन्दा बाहिर गएर रकम निकासा गर्न नसकिने स्पष्ट पार्दै बजेटभित्रै रहेर रकमान्तर गर्न सकिने बताउनुभयो ।

उहाँका अनुसार बजेट अख्तियारी दिएपछि सम्बन्धित मन्त्रालयको स्वामित्वमा जाने भएकाले अर्थ मन्त्रालयले एक मन्त्रालयको बजेट तानेर अन्यत्र पठाउन सक्दैन । त्यसका लागि सम्बन्धित मन्त्रालयले नै बजेट सलेण्डर गर्नुपर्ने हुन्छ ।

स्वास्थ्य बीमाका लागि अर्थ मन्त्रालयको भैपरी शीर्षकबाट १ अर्ब रुपैयाँ थप गरिएको र अहिलेसम्म कुल १ अर्ब ७२ करोड रुपैयाँको व्यवस्था गरिएको जानकारी दिँदै उहाँले अब करिब ७ अर्ब रुपैयाँ दायित्व हुनसक्ने अनुमान गर्नुभयो । फागुन २१ पछि थप बजेट निकासा हुन सक्ने उहाँको भनाइ छ ।