चौतर्फी विकासका लागि पूर्वाधार, अन्धविश्वास अन्त्य र राष्ट्रिय एकता आवश्यक : ओली

171 Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको चौतर्फी विकासका लागि भौतिक पूर्वाधार निर्माण, सामाजिक अन्धविश्वासको अन्त्य तथा सुदृढ राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन्।

झापाको गौरीगञ्जमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीले सुरु गरेका विकास आयोजनाले जनताको जीवनस्तरमा परिवर्तन ल्याएको दाबी गरे। समृद्ध नेपालको अभियानलाई सार्थक बनाउन सबै पक्ष एकजुट हुनुपर्ने उनको भनाइ थियो।

अध्यक्ष ओलीले आफू २०२६–२७ सालदेखि नै यस क्षेत्रको विकासमा जोडिएको स्मरण गर्दै झापाको परिवर्तन आफ्नै आँखाले देखेको बताए। विगतमा उपहास गरिएका हुलाकी राजमार्ग र ठूला पुलहरू अहिले यथार्थमा परिणत भएको उनले उल्लेख गरे।

विकासका कामहरू ठेकेदार वा इन्जिनियरको त्रुटिका कारण केही स्थानमा रोकिए पनि ती समस्या समाधान गरिने उनले बताए। गरिबी र पछौटेपनलाई संस्कृति मानेर बस्न नहुने भन्दै गुइँठा र दाउराको सट्टा बिजुली र स्वदेशी ग्यासको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।

अध्यक्ष ओलीले ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिको संरक्षण राज्यको दायित्व भएको र एमाले सरकारले यसलाई उच्च प्राथमिकता दिएको स्पष्ट पारे। शिक्षा नै विकासको आधार भएकाले सबै जातजातिका बालबालिकालाई उच्च शिक्षासम्म पुर्‍याउन अभिभावकलाई आग्रह गरे।

राजनीतिक रूपमा उनले एमालेको नेतृत्वमा मात्रै नेपालको अन्तर्राष्ट्रिय साख जोगिने र विकासले गति लिने दाबी गरे। भ्रमको राजनीति गर्नेहरूबाट सचेत रहन र जातिवादभन्दा माथि उठेर राष्ट्र निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।