निर्वाचन आचारसंहिता विपरीत कार्यक्रम नगर्न रवि लामिछानेलाई प्रशासनको आग्रह

39 Shares

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (पश्चिम) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई निर्वाचन आचारसंहिता विपरीत कार्यक्रम नगर्न आग्रह गरेको छ।

प्रशासनले मंगलबार पश्चिम नवलपरासीमा हुने भनिएको लामिछानेको कार्यक्रमलाई चासोका साथ हेरिरहेको जनाएको छ। निर्वाचन आचारसंहिता उल्लङ्घन हुने कुनै पनि गतिविधि नगर्न तथा नगराउन प्रशासनले उनलाई सचेत गराएको हो।

जिल्ला प्रशासन कार्यालयले सोमबार राति एक सूचना जारी गर्दै ‘निर्वाचन आचारसंहिता–२०८२’ विपरीतका कार्यक्रम नगर्न आग्रह गरेको छ। सूचनामा पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषणराज भण्डारीको हस्ताक्षर रहेको छ।

सूचनामा निर्वाचन आचारसंहिता आकर्षित हुने गरी कुनै पनि गतिविधि नगर्न र नगराउन सम्बन्धित सबै पक्षलाई जानकारी गराइएको उल्लेख छ।

निर्वाचन आचारसंहिता अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुन ४ देखि १८ गतेसम्म १५ दिनको मात्र औपचारिक प्रचार अवधि तोकिएको छ।note-1-1.webp