काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने मुख्य दायित्व सरकारकै भएको बताउनुभएको छ।
आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित पुरस्कार तथा प्रशंसापत्र वितरण कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचार नियन्त्रणलाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। सुशासन कायम गर्न संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले ऐन, नियम तथा कानुनको चुस्त र प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ।
प्रमुख आयुक्त राईले अख्तियार भ्रष्टाचार नियन्त्रणका लागि अन्तिम अस्त्रका रूपमा प्रयोग हुने संस्था मात्र भएको स्पष्ट पार्नुभयो। सुशासन कायम गर्न सरकारका साथै नागरिक समाज र सञ्चार क्षेत्रको भूमिका पनि अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो। अख्तियार ऐन, नियम र कानुनअनुसार आयोग भ्रष्टाचार नियन्त्रणमा निरन्तर क्रियाशील रहेको उहाँको भनाइ थियो।
भ्रष्टाचार नियन्त्रणका लागि जनशक्ति वृद्धि, कार्यशैलीमा सुधार तथा प्रविधिको प्रयोग बढाइएको जानकारी दिँदै उहाँले प्रविधिको विकाससँगै भ्रष्टाचारका स्वरूप पनि जटिल बन्दै गएको बताउनुभयो। त्यसैले अब अझ सशक्त ढंगले अघि बढ्नुपर्ने अवस्था आएको उहाँको धारणा छ।
प्रमुख आयुक्त राईले पछिल्ला वर्षहरूमा आयोगप्रति जनविश्वास बढ्दै गएको दाबी गर्दै पाँच वर्षे कार्यकालमा आयोगको संस्थागत क्षमता र स्तर वृद्धि गरिएको बताउनुभयो। हालको कार्यशैलीले समाजमा सुशासनप्रति आशा जगाएको उहाँको भनाइ छ।
यसै अवसरमा आयोगले नेपाल प्रहरी, आयोगका कर्मचारी तथा सञ्चारकर्मीलाई सम्मान गरेको छ। न्युज एजेन्सी नेपाललाई पनि सम्मान प्रदान गरिएको छ। उत्कृष्ट अख्तियार सेवा पुरस्कार र उत्कृष्ट अनुसन्धान अख्तियार पुरस्कार भने माघ २८ गते स्थापना दिवसको मूल समारोहमा वितरण गरिने प्रमुख आयुक्त राईले जानकारी दिनुभयो।







फेसबुकबाट तपाईको प्रतिक्रिया