अधिकांश मतदाताले राजा चाहन्छन् : कमल थापा

161 Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार कमल थापाले अधिकांश मतदाताले देशमा राजसंस्था आवश्यक रहेको बताउने गरेको दाबी गर्नुभएको छ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले बुढापाकाभन्दा पनि युवाहरूमा हिन्दु राष्ट्र र राजसंस्थाप्रतिको चाहना बढ्दो रहेको जिकिर गर्नुभयो।

उहाँले भ्रष्ट नेता र भ्रष्ट पार्टीलाई मतदान नगर्न आम मतदातालाई अपिल गर्न पार्टीका कार्यकर्तालाई निर्देशन दिँदै जनताको घरघरमा पुगेर भ्रष्टाचार अन्त्यका लागि राप्रपालाई मत दिन आग्रह गर्नुपर्ने बताउनुभयो।

थापाले निर्वाचनका बेला मतदाताले भ्रष्टाचारविरुद्धको आवाजलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याउँदै यथास्थितिमा मुलुक अघि बढ्न नसक्ने भएकाले आसन्न निर्वाचनमा राप्रपा विजयी हुनुको विकल्प नरहेको धारणा व्यक्त गर्नुभयो।