नेपालमा राजसंस्था आवश्यक भइसकेको दाबी : रविन्द्र मिश्र

157 Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रले नेपालमा राजसंस्था अतिआवश्यक भइसकेको दाबी गर्नुभएको छ।

आइतबार काठमाडौंमा आयोजित पार्टीका उम्मेदवारहरूको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सबै जातजाति, भाषाभाषी, धर्म, संस्कृति, पार्टी, गुट र व्यक्तिलाई एउटै छहारीमा राखेर देशलाई अघि बढाउन राजसंस्थासहितको व्यवस्था आवश्यक रहेको पार्टीको अडान रहेको बताउनुभयो।

उहाँले राप्रपाले मुलुकलाई राजसंस्थासहितको शासन व्यवस्थातर्फ नयाँ समझदारीका साथ अघि बढाउनुपर्ने धारणा राख्दै आएको र त्यसमा सहमत भई मतदाताले आफ्नो पार्टीलाई मतदान गर्नुपर्ने उल्लेख गर्नुभयो। राप्रपालाई मत नदिए मुलुक संकटबाट मुक्त हुने अवस्था नआउने समेत उहाँको भनाइ थियो।

मिश्रले नेपालमा राजसंस्थाको आलोचना गर्ने केही नेताहरूमा पनि पछिल्लो समय मौनता देखिन थालेको टिप्पणी गर्दै देशका भावी पुस्ताको दीर्घकालीन हितका लागि राजसंस्थाबारे गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता औँल्याउनुभयो।