काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा राजनीतिक स्थायित्व कायम गर्न समावेशी शासन प्रणालीलाई व्यवहारमा उतार्नु अपरिहार्य रहेको बताउनुभएको छ।
आइतबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले समावेशी शासन प्रणालीबिना मुलुकमा दिगो राजनीतिक स्थायित्व सम्भव नहुने उल्लेख गर्नुभयो।
सबै जातजाति, भाषा, संस्कृति र समुदायलाई समान पहुँच, अवसर र सम्मान सुनिश्चित नगरी दिगो विकास र सामाजिक न्याय सम्भव नहुने उहाँको भनाइ छ। राष्ट्रिय गानको सन्दर्भ उल्लेख गर्दै नेपाललाई सयौँ फूलले बनेको सुन्दर फूलबारीका रूपमा चित्रण गर्दै यसलाई अझ समुन्नत र सन्तुलित बनाउन सबै समुदायको समान सहभागिता आवश्यक रहेको बताउनुभयो।
राष्ट्रपति पौडेलले संविधानले समावेशिता, समानता र सामाजिक न्यायलाई मूल लक्ष्यका रूपमा अघि सारेको स्मरण गराउँदै राज्यले सबै जाति तथा समुदायलाई विश्वासमा लिएर शासन सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले आदिवासी जनजाति समुदायको भाषा, संस्कृति र सम्पदा नेपालको पहिचान भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया