काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री एवं ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार उदय शमशेर जबराले आगामी निर्वाचनमा पार्टीले गगन थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारेको घोषणा गर्दै उनका नाममा भोट माग्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ।
ललितपुरमा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै जबराले यो चुनाव केवल उम्मेदवार जित्ने/हार्ने मात्र नभई गगन थापालाई प्रधानमन्त्री बनाउने र देशमा परिवर्तन ल्याउने चुनाव भएको बताए। उनले अबको सरकार ‘गगनको सरकार’ हुने भन्दै कार्यकर्तालाई त्यसका लागि भोट दिन आह्वान गर्नुभयो।
सहमहामन्त्री जबराले प्रधानमन्त्रीका उम्मेदवारबीच राष्ट्रिय बहस हुनुपर्नेमा जोड दिनुभयो। उनले फेसबुक र ट्विटरको भित्तामा मात्र सिमित नहुँदै सार्वजनिक स्थलहरूमा आएर पार्टीको नीति, अर्थतन्त्र, परराष्ट्र, कृषि, पर्यटन र जलस्रोत सम्बन्धी बहस गर्न अन्य नेताहरूलाई चुनौती दिनुभयो।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै उनीहरू नयाँ नभई पुरानै अनुहार भएको दाबी गर्नुभयो। रास्वपाका सभापति दुई पटक गृहमन्त्री भइसकेको र पार्टी दुई पटक सरकारमा पुगेको स्मरण गर्दै जबराले विवादित नेतृत्वले परिवर्तन ल्याउन नसक्ने ठोकुवा गर्नुभयो।
उहाँले भने, “पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय बहसका लागि तयार छु भन्नुभयो, तर अहिलेका युवा उम्मेदवारहरूले यसलाई किन स्वीकार गरिरहेका छैनन्? फेसबुकबाट मात्र देश चल्दैन, जनताको नजिक आएर आफ्ना नीतिहरू स्पष्ट रूपमा भन्नुपर्छ।”
जबराले ‘जेन–जी’ आन्दोलनपछिको काँग्रेसको परिवर्तन र आन्तरिक लोकतन्त्रलाई पनि स्मरण गर्दै पार्टी अब सबैभन्दा पुरानो मात्र नभई सबैभन्दा नयाँ र नवीन पार्टी बनेको बताउनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया