रुख चिन्हलाई विजयी बनाउन एकजुट हुन श्रेष्ठको आह्वान

42 Shares

काठमाडौं । नेपाली काँग्रेस ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले आगामी निर्वाचनमा पार्टीको चुनाव चिन्ह ‘रुख’ लाई विजयी बनाउन सम्पूर्ण कार्यकर्ता र शुभेच्छुकहरूलाई एकजुट हुन आह्वान गरेका छन्।

ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको सिद्धान्त र विकासको एजेण्डा नै काँग्रेसको मुख्य शक्ति भएको स्पष्ट पारे। उनले स्थानीय तह र केन्द्र सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिए।

श्रेष्ठले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसँगको सहकार्यले क्षेत्रीय विकासलाई तीव्रता दिन सकिने विश्वास व्यक्त गरे। स्थानीय जनप्रतिनिधिहरूको अनुभव र आफ्नो राजनीतिक सक्रियतालाई जोडेर ललितपुरलाई नमूना जिल्ला बनाउने प्रतिबद्धता उनले व्यक्त गरे। विकास आयोजनाहरू समयमै सम्पन्न गर्न ‘टिम वर्क’ आवश्यक रहेको उनको भनाइ छ।

पार्टीको चुनाव चिन्ह ‘रुख’ केवल चिन्ह मात्र नभई उम्मेदवारको प्रतिबद्धता र काँग्रेसको गौरवशाली इतिहासको प्रतीक भएको उनले उल्लेख गरे। कार्यकर्ताहरूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीको झण्डा र चिन्हलाई केन्द्रमा राखी चुनावी अभियानमा सक्रिय हुन उनले निर्देशन दिए।

श्रेष्ठले आफू केवल एउटा प्रतिनिधि पात्र भएको उल्लेख गर्दै पार्टीको सिद्धान्त र चिन्हलाई जिताउनु नै सबैको साझा जिम्मेवारी भएको बताए। नयाँ पुस्तामा समेत ‘रुख’ चिन्हको प्रभाव रहेको दाबी गर्दै उनले काँग्रेसको विरासत युवा पुस्तासम्म हस्तान्तरण भइरहेको उल्लेख गरे।

आगामी दिनमा घरदैलो अभियानलाई थप सशक्त बनाउँदै प्रत्येक मतदातासम्म पुग्न कार्यकर्ताहरूलाई उनले विशेष आग्रह गरेका छन्।