काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनअघि कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन नगर्ने आफ्नो अडान पुनः स्पष्ट गरेको छ। पार्टीले प्रतिनिधिसभाका सबै १६५ निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार कायम गरी एक्लै चुनावी मैदानमा उत्रिएको जनाएको छ।
नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले कांग्रेस अहिले पूर्ण रूपमा निर्वाचन केन्द्रित गतिविधिमा जुटेको जानकारी दिए। उनले कांग्रेसले आफ्नै संगठनात्मक शक्ति, राजनीतिक अनुभव र जनसमर्थनका आधारमा चुनाव जित्ने विश्वास व्यक्त गरे।
प्रवक्ता चालिसेले पछिल्लो समय संसद पुनःस्थापना लगायतका विषयमा विभिन्न चर्चा र हल्लाहरू चलाइए पनि ती विषयमा कांग्रेसको कुनै औपचारिक धारणा नरहेको बताए। उनका अनुसार यस्ता विषय निर्वाचनबाट जनताको ध्यान अन्यत्र मोड्ने प्रयास हुन सक्छन्। कांग्रेस भने चुनावी प्रक्रियामै केन्द्रित रहेको उनले स्पष्ट पारे।
उनले निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै मतदान तथा प्रचार–प्रसार गर्न पाउनु नागरिक र राजनीतिक दल दुवैको मौलिक अधिकार भएको बताए। त्यसका लागि आवश्यक सुरक्षा, व्यवस्थापन र वातावरण निर्माण गर्न उनले सरकारसँग आग्रह गरे।
कांग्रेसले चुनावी अभियानलाई देशव्यापी रूपमा तीव्र बनाएको जनाएको छ। पार्टीका शीर्ष नेता, उम्मेदवार र कार्यकर्ता विभिन्न जिल्लामा मतदाता भेटघाट, घरदैलो कार्यक्रम, सभासम्मेलन तथा अन्तरक्रियामा सक्रिय रूपमा सहभागी भइरहेका छन्। संगठन सुदृढीकरण, नीति–कार्यक्रम प्रचार र मतदाता विश्वास बढाउने रणनीतिमा कांग्रेस लागेको बताइएको छ।
चालिसेले कांग्रेस लोकतान्त्रिक मूल्य–मान्यता, संविधानको रक्षा, आर्थिक विकास र सामाजिक स्थायित्वका मुद्दालाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाइरहेको बताए। उनले मतदातालाई जिम्मेवार ढंगले मतदान गरी विगतको योगदान, वर्तमान प्रतिबद्धता र भविष्य निर्माण गर्न सक्ने क्षमता भएका पार्टी तथा उम्मेदवारलाई छनोट गर्न आग्रह गरे।
कांग्रेसले निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ। पार्टी नेताहरूले आफ्नै बलमा चुनाव जित्ने दाबी गर्दै आगामी परिणाम आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरेका छन्।
यसैबीच अन्य दलहरूसँग सम्भावित चुनावी समीकरणबारे विभिन्न राजनीतिक वृत्तमा चर्चा भइरहे पनि कांग्रेस नेतृत्वले भने चुनावअघि गठबन्धन नहुने विषयमा स्पष्ट अडान कायम राखेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया