टेलिकमको कार्यसम्पादनप्रति प्राधिकरण अध्यक्ष भण्डारी असन्तुष्ट

181 Shares

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले नेपाल टेलिकमको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै कार्यसम्पादन सुधार्न निर्देशन दिनुभएको छ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले हालको कार्यशैली दीर्घकालीन रूपमा दिगो नहुने उल्लेख गर्नुभयो। उहाँले राजस्व संकलन बढाउनेतर्फ ध्यान दिन आग्रह गर्दै टेलिकमको आम्दानी खर्चको तुलनामा कमजोर रहेको बताउनुभयो।

दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले ब्यान्डविथलगायत विभिन्न क्षेत्रमा भइरहेको उच्च खर्च घटाउन सकिने धारणा राख्नुभयो। “रेभेन्यु बढाउन सकिँदैन भने खर्च घटाउनेतर्फ ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो, “आवश्यक परे प्राधिकरण सल्लाह दिन तयार छ।”

अध्यक्ष भण्डारीले दूरसञ्चार प्राधिकरण ऐन ल्याउन सञ्चार मन्त्रालयलाई आग्रह गरिएको जानकारी दिँदै नयाँ संसदबाट छिट्टै जारी हुन सक्ने बताउनुभयो। साथै, नेपाल टेलिकमलाई फाइभ–जी परीक्षणका लागि सहुलियत दिइए पनि परीक्षणपछि अपेक्षित प्रगति हुन नसकेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो।