७४९ स्थानीय तहमा फोर–जी सेवा विस्तार : सचिव बस्नेत

155 Shares

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले देशभरका ७ सय ४९ स्थानीय तहमा फोर–जी सेवाको पहुँच विस्तार भएको बताउनुभएको छ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २२ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार बोल्दै टेलिकम सञ्चालक समितिकी अध्यक्षसमेत रहनुभएकी बस्नेतले डिजिटल डिभाइड न्यूनीकरणमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार नयाँ प्रविधि र अनुसन्धानलाई आत्मसात गर्दै टेलिकमले सर्वसुलभ रूपमा गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ। विश्वव्यापी रूपमा प्रविधिमा भइरहेको तीव्र परिवर्तनसँगै सेवाग्राहीको माग र अपेक्षा बढ्दै गएको उहाँले बताउनुभयो।

प्रायः सबै शहर तथा गाउँमा ‘फाइबर टु द होम’ (FTTH) सेवा विस्तार भएसँगै उच्च गतिको ब्रोडब्यान्ड सेवा सर्वसाधारणको पहुँचमा पुगेको सचिव बस्नेतको भनाइ छ। देशको प्रमुख दूरसञ्चार सेवा प्रदायकका रूपमा टेलिकमले कनेक्टिभिटी उपलब्ध गराई टेलिहेल्थ, टेलिमेडिसिन र टेलिएजुकेशनजस्ता सेवाको विकासमा अझ ध्यान दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो।

विशेषगरी दुर्गम क्षेत्रमा ई–डिजिटल सेवाको पहुँच सुनिश्चित गर्न आवश्यक पूर्वाधार निर्माण अपरिहार्य रहेको उहाँले बताउनुभयो। यसले जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्नुका साथै मुलुकको डिजिटलाइजेसन अभियानलाई थप गति दिने विश्वास व्यक्त गर्नुभयो।

टेलिकमले सेवाको गुणस्तर र सर्वसुलभता अझै वृद्धि गर्नुपर्नेमा जोड दिँदै सचिव बस्नेतले प्रत्येक नेपाली बसोबास गर्ने स्थानमा वायरलेस र वायरलाइन दुवै प्रकारका दूरसञ्चार सेवाको पहुँच पु¥याउन आवश्यक रहेको बताउनुभयो। ग्रामीण दूरसञ्चार विकास कोषलगायतका कार्यक्रममार्फत मन्त्रालयले आवश्यक सहजीकरण गरिरहेको पनि उहाँले जानकारी दिनुभयो।

सचिव बस्नेतले टेलिकमका कर्मचारीहरूको वृत्तिविकास र अन्य माग सम्बोधन गर्न मन्त्रालय तयार रहेको पनि बताउनुभयो।