नेपाल टेलिकम राज्यको डिजिटल मेरुदण्ड हो : गृहमन्त्री अर्याल

136 Shares

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्डका रूपमा स्थापित संस्था भएको बताउनुभएको छ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २२ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार बोल्दै उहाँले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म सञ्चार पहुँच विस्तार गर्न टेलिकमले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।

प्राकृतिक विपद्, महामारी तथा अन्य आपतकालीन अवस्थाहरूमा टेलिकमको भूमिका स्मरणीय र प्रशंसनीय रहेको उहाँको भनाइ थियो। हाल दूरसञ्चार सेवा व्यवसाय मात्र नभई मानव जीवनको आधारभूत आवश्यकता तथा शैक्षिक, सामाजिक र आर्थिक विकासको महत्वपूर्ण पूर्वाधारका रूपमा स्थापित भइसकेको उहाँले बताउनुभयो।

नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्राप्त गर्नु सेवाग्राहीको हक भएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले त्यसतर्फ कम्पनीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। सन्तुष्ट ग्राहक नै कम्पनीको दिगो विकास र स्थायित्वको आधार भएको उहाँको भनाइ थियो।

प्रतिस्पर्धी बजारमा नेपाल टेलिकमले आफ्नो सार्वजनिक दायित्व, सेवा गुणस्तर र प्रविधिगत नवप्रवर्तनलाई सन्तुलनमा राख्दै ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उहाँले जोड दिनुभयो। कम्पनीको सञ्जाल, पूर्वाधार, दक्ष जनशक्ति र बजार सम्भावनाको प्रभावकारी व्यवस्थापनमार्फत प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न उहाँले आग्रह गर्नुभयो।

टेलिकमले सेवा विस्तारसँगै डिजिटल साक्षरता प्रवर्द्धन, विद्युतीय सरकारको अवधारणा कार्यान्वयन तथा ज्ञानमा आधारित समाज निर्माणमा योगदान दिँदै आएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले सार्वजनिक सेवा सरकार र नागरिकलाई जोड्ने सेतु भएको बताउनुभयो। नागरिक र सरकारबीचको सम्बन्धलाई थप सुदृढ बनाउन नेपाल टेलिकमको भूमिका महत्वपूर्ण रहने उहाँको भनाइ थियो।