अराजकता सिर्जना गर्ने तत्वहरूले म प्रतिवादी बनाउने प्रयास गरिरहेको छ: अध्यक्ष ओली

142 Shares

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रघाती तत्वहरूले अराजकता फैलाएर आफूविरुद्ध आरोप लगाउने काम गरिरहेको बताउनुभएको छ।

झापावासीहरूसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले गत भदौ २३–२४ गतेको घटनामा केही तत्वहरूले उपद्रव मच्चाएर राष्ट्रिय स्तरको अराजकता सिर्जना गर्ने प्रयास गरेको स्पष्ट गर्नुभयो। उहाँले पहिलेदेखि नै सम्भावित घटनाप्रति सचेत रहेको भए पनि पूर्ण रूपमा रोक्न नसकेको बताउनुभयो।

उहाँले आगो लगाउने र मार्नेहरूले उल्टै आफूविरुद्ध हत्यारा, षड्यन्त्रकारी तथा घृणित आरोप लगाएर देशलाई बद्नाम गर्ने काम गरेको दावी गर्नुभयो। अध्यक्ष ओलीले प्रधानमन्त्रीले गोली चलाउने आदेश दिन नसक्ने भन्दै, “प्रधानमन्त्रीले गोली चलायो भन्नेहरु बेकुफ वा अपराधी हुन्” भनेका छन्।

उहाँको यो अभिव्यक्ति भदौ २३ गतेको जेएनजे प्रदर्शन र हिंसात्मक घटनासँग सम्बन्धित छ, जसमा प्रदर्शनकारीको आक्रमण र आगजनीका क्रममा प्रहरीले कारबाही गर्दा दर्जनौंको ज्यान गएको थियो। सोही घटनापछि अध्यक्ष ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो।

अध्यक्ष ओलीले झुटो प्रचार गर्नेहरूले विभिन्न आरोप लगाइरहे पनि यथार्थ जानकारी आम नागरिकलाई बुझाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।