काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनुभव नभएका व्यक्तिहरूले प्रधानमन्त्री बन्ने दावी गर्नु हाँस्यास्पद भएको टिप्पणी गर्नुभएको छ।
झापावासीहरूसँगको भेटघाटका क्रममा बोल्दै अध्यक्ष ओलीले भोट हाल्ने बाहेक अन्य कुनै राजनीतिक वा प्रशासनिक अनुभव नभएका व्यक्तिहरूले देश चलाउने दाबी गर्नु उपयुक्त नहुने बताउनुभयो। देश सञ्चालन कुनै खेल वा ठट्टाको विषय नभएको उहाँको भनाइ थियो।
उहाँले देश चलाउन स्पष्ट दर्शन, नीति र सिद्धान्त आवश्यक पर्ने जिकिर गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहतर्फ संकेत गर्दै अध्यक्ष ओलीले एउटा पनि आम निर्वाचनको अनुभव नलिएको व्यक्ति प्रधानमन्त्री हुन्छु भन्दै हिँड्नु उचित नदेखिएको धारणा राख्नुभयो।
अध्यक्ष ओलीले अमेरिका लगायतका देशहरूमा पनि अनुभव प्राप्त व्यक्तिहरूले नै सरकार सञ्चालन गर्ने अभ्यास रहेको उदाहरण दिनुभयो।
उहाँले पुनः जोड दिँदै देशको नेतृत्व गर्न गहिरो समझ, नीतिगत स्पष्टता र दीर्घ राजनीतिक अनुभव आवश्यक पर्ने बताउनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया