राष्ट्रपति यादवको सम्बोधन : आदिवासी जनजातिका अधिकारको व्यवहारिक कार्यान्वयन आजको मुख्य चुनौती

144 Shares

काठमाडौं । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले आदिवासी जनजातिका समुदायका लागि संविधानले प्रत्याभूत गरेका अधिकार व्यवहारमा अनुभूत हुनेगरी कार्यान्वयन गर्नु आजको प्रमुख चुनौती रहेको बताउनुभएको छ।

बुधबार काठमाडौंमा आदिवासी जनजाति आयोगको पाँचौँ वार्षिक उत्सव समारोहमा सम्बोधन गर्दै उहाँले आदिवासी जनजाति समुदायको विशिष्ट पहिचान, मौलिक संस्कार र संस्कृति राष्ट्रिय गौरवका आधारस्तम्भ भएको उल्लेख गर्नुभयो।

राष्ट्रपति यादवले भने, “यी सम्पदाको जगेर्ना र संवद्र्धन गर्दै राष्ट्रिय एकता, सार्वभौमिकता, स्वाधीनता र स्वाभिमानलाई अविछिन्न राख्नु हाम्रो सामूहिक जिम्मेवारी हो। संविधानले प्रत्याभूत गरेका अधिकार व्यवहारमा अनुभूत हुनेगरी कार्यान्वयन हुनु आजको मुख्य चुनौती हो। यसको लागि सरोकारवालासँग सहकार्य र स्पष्ट इच्छाशक्ति आवश्यक छ।”

उहाँले आयोगले अनुसन्धान, परामर्श, नीति सिफारिस र समन्वयलाई अझ सशक्त बनाउँदै अधिकारको व्यवहारिक अनुभूति सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। साथै, विकासको नाममा आदिवासी जनजातिको संस्कृति, भाषा र जीवनशैली विस्थापित नहुनुपर्ने संवेदनशीलता अपनाउनुपर्ने बताउनुभयो।

राष्ट्रपति यादवले नीति निर्माण, स्रोत–साधनमा पहुँच र न्यायपूर्ण विकास प्रक्रियामा आदिवासी जनजातिको सहभागिता सुनिश्चित गर्न आयोगले सक्रिय पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।