प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमा स्रोत समस्या तत्काल समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो

142 Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विपन्न, अपांग, अशक्त तथा कमजोर वर्गका लागि सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमको स्रोतसम्बन्धी समस्या तत्काल समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

बुधबार सम्बन्धित पक्षसँगको छलफलमा उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई कडा नियमन गर्दै एकद्वार प्रणालीमार्फत लागू गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। “स्वास्थ्य बीमा कार्यक्रमलाई नियमन गर्न जरुरी छ। गरिब, असहाय, अल्पसंख्यक सबैलाई योजना अनुसार लाभ पुग्नुपर्छ। पैसा गईरहेको छ तर उपचार पाइएको छैन भने त्यसलाई व्यवस्थित गर्नुपर्छ,” उहाँले भन्नुभयो।

प्रधानमन्त्री कार्कीले सरकारले आवश्यक भए ऋण खोजेर वा बजेट व्यवस्था गरेर पनि कार्यक्रम अघि बढाउने बताउनुभयो। उहाँले जनताले बीमा प्रिमियम तिरे पनि सरकारले बजेटको व्यवस्था नगर्ने अवस्था आउन नहुने स्पष्ट गर्नुभयो।

उहाँले स्वास्थ्य मन्त्रालयलाई नीतिगत र कानूनी आधार तयार गरी कार्यक्रमलाई एकद्वार प्रणालीबाट अघि बढाउन निर्देशन दिनुभयो। साथै, छलफलमार्फत समस्या पहिचान गरी समाधान गर्ने प्रक्रिया तुरुन्त अघि बढाइने बताउनुभयो।

प्रधानमन्त्री कार्कीको भनाइ अनुसार, स्वास्थ्य बीमा कार्यक्रम गरीब, असहाय र सामाजिक रूपमा कमजोर वर्गको हित सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन भइरहेको र यसमा ढिलाइ वा अव्यवस्था हुन नहुने छ।