काठमाडौं । नेकपा (एमाले)ले पार्टीको चुनाव चिन्ह परिवर्तन भएको भनी कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर भ्रामक सामग्री तयार गरी प्रचार गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले निर्वाचन लक्षित प्रचार–प्रसारमा प्रविधिको गैरजिम्मेवार प्रयोग भइरहेको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो।
उहाँले लोकतान्त्रिक मूल्य–मान्यता, निर्वाचन आचारसंहिता र राजनीतिक मर्यादाको पूर्ण पालना हुनुपर्नेमा जोड दिँदै प्रविधिको दुरुपयोग गरेर राजनीतिक भ्रम फैलाउने काम अस्वीकार्य भएको उल्लेख गर्नुभयो। विभिन्न दल, उम्मेदवार तथा निर्वाचन चिन्हबारे भ्रम फैलाउने उद्देश्यले कलाकारको प्रयोग र एआई प्रविधिको दुरुपयोग गरी पार्टी नेतृत्व र नीतिमाथि आक्रमण गर्ने प्रयास भइरहेको आरोप पनि उहाँले लगाउनुभयो।
शाहीले विशेषगरी एमालेको चुनाव चिन्ह ‘सूर्य’ परिवर्तन भएको भन्ने एआईमार्फत बनाइएका सामग्रीप्रति कडा आपत्ति जनाउँदै त्यस्ता सामग्री निर्माण तथा प्रसारणमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो।
त्यस्तै, पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी सामाजिक सञ्जालमा गालीगलौज, अमर्यादित र असभ्य शब्द प्रयोग गरिएको सामग्रीप्रति पनि एमालेले आपत्ति जनाएको छ। व्यक्तिगत मर्यादा र स्वतन्त्रतामाथि प्रहार हुने किसिमका अभिव्यक्तिको पार्टीले कडा शब्दमा भत्र्सना गरेको छ।
एमालेले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याउँदै निर्वाचन प्रक्रिया मर्यादित र जिम्मेवार बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया