काठमाडौं उपत्यकामा कम्तीमा १० सिट जित्ने एमालेको दाबी : महेश बस्नेत

142 Shares

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं उपत्यकाका कम्तीमा १० सिट एमालेले जित्ने दाबी गर्नुभएको छ।

प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै उहाँले उपत्यकाका सबै १५ सिट जित्ने लक्ष्यसहित तयारी भइरहेको भए पनि कम्तीमा १० सिटमा जित सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो।

बस्नेतले अघिल्लो निर्वाचनमा पाँच दलीय गठबन्धन र स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षणका कारण एमाले उपत्यकामा दुई सिटमा सीमित हुनुपरेको स्मरण गर्नुभयो। उहाँका अनुसार अहिले मतदाताहरू एमाले नै उपयुक्त विकल्प हो भन्ने निष्कर्षमा पुगेका छन्।

उहाँले उपत्यकावासीलाई सचेत, शिक्षित र राजनीतिक रूपमा परिपक्व समुदायका रूपमा वर्णन गर्दै भोट किनबेचको आरोप लगाउने प्रवृत्तिप्रति आपत्ति जनाउनुभयो। “यहाँ देशकै धेरै बौद्धिक र शिक्षित वर्ग बस्छन्, उनीहरूको मत सजिलै किनबेच हुँदैन,” उहाँले भन्नुभयो। साथै, उपत्यकाको मतदाताको मनोवृत्ति परिवर्तनशील हुने र सानो घटनाले पनि मतको दिशा बदलिन सक्ने उहाँको भनाइ थियो।

बस्नेतले अघिल्लो पटक स्वतन्त्र उम्मेदवारप्रतिको लहरका कारण एमालेले अपेक्षित परिणाम ल्याउन नसकेको तर यसपटक माहोल फरक रहेको दाबी गर्नुभयो। “१५ सिट एमालेको सुनिश्चित भन्ने नारा दिएका छौँ, तर कम्तीमा १० सिट जित्छौँ,” उहाँले जोड दिनुभयो।

उहाँले देशमा विकास निर्माणका क्षेत्रमा एमालेले उल्लेखनीय काम गरेको दाबी गर्दै त्रिवि क्रिकेट मैदानको स्तरोन्नति, धरहरा पुनर्निर्माण र रानीपोखरीको पुनःनिर्माणजस्ता संरचनाहरू उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो।