स्वास्थ्य बीमाका समस्याबारे प्रधानमन्त्री कार्कीको चासो, सरोकारवालासँग आज छलफल

154 Shares

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा देखिएका समस्याबारे प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन्। समस्याको समाधान खोज्ने उद्देश्यले प्रधानमन्त्री कार्कीले सरोकारवाला निकायहरूको बैठक बोलाएकी हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो साढे १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। बैठकमा स्वास्थ्य बीमा कार्यक्रमको वर्तमान अवस्था, देखिएका चुनौती तथा समाधानका उपायबारे छलफल हुने जनाइएको छ।

हाल रकम अभावका कारण सबै बिरामीले स्वास्थ्य बीमाको सुविधा पाउन नसकेको गुनासो बढिरहेको छ। देशका केही ठूला अस्पतालहरूले सूचना जारी गर्दै बीमा सेवा दिन नसक्ने अवस्था आएको बताएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले बीमा बोर्डले करिब ४० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकाले स्वास्थ्य बीमा सेवा निरन्तर दिन कठिन भएको उल्लेख गर्दै सूचना प्रकाशित गरेको थियो।

यस्तै समस्या अन्य अस्पतालहरूमा पनि देखिन थालेपछि स्वास्थ्य बीमा बोर्डले गत सोमबार सूचना जारी गर्दै एक आर्थिक वर्षमा बहिरंग (ओपिडी) सेवाअन्तर्गत अधिकतम २५ हजार रुपैयाँसम्म मात्र उपचार सुविधा उपलब्ध गराइने जनाएको छ। उक्त सीमाभन्दा बढी उपचारका लागि भने अस्पताल भर्ना, प्रयोगशाला परीक्षण तथा आकस्मिक सेवाअन्तर्गतको सुविधा लागु हुने व्यवस्था गरिएको बोर्डले जनाएको छ।

स्वास्थ्य बीमा बोर्डका अनुसार नयाँ व्यवस्था आगामी फागुन १ गतेदेखि कार्यान्वयनमा आउनेछ।