नेपाल–जापान सम्बन्ध अझ सुदृढ बनाउन सहकार्य चाहन्छौं : राष्ट्रपति पौडेल

143 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता द्विपक्षीय सम्बन्ध अझ नजिकिँदै र गहिरिँदै गएको बताएका छन्। उनले आगामी दिनमा यो सम्बन्धलाई थप सुदृढ बनाउन जापानी नेतृत्वसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको स्पष्ट पारे।

जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलसँग जापानकी प्रधानमन्त्री तकाइची सनायले मंगलबार गरेको शिष्टाचार भेटका क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले जापान सरकारको निरन्तर सहयोग, सद्भावना र समझदारीप्रति आभार व्यक्त गर्दै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहयोगलाई थप मजबुत बनाउन मिलेर काम गर्ने प्रतिबद्धता जनाए। उनका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवलाई द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा बताएका थिए।

उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै द्विपक्षीय व्यापार विस्तार र विकास प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने पर्याप्त सम्भावना रहेको बताए। नेपालले व्यापार सहज बनाउन, वैदेशिक लगानी आकर्षित गर्न तथा नवप्रवर्तन प्रवर्द्धन गर्न कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेको पनि उनले जानकारी दिए।

जापानको अनुदान, ऋण, प्राविधिक तथा बहुपक्षीय सहयोगले नेपालमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुगेको राष्ट्रपति पौडेलले उल्लेख गरे। नेपाल अतिकम विकसित मुलुकको श्रेणीबाट स्तरोन्नति हुने क्रममा जापानबाट निरन्तर सहयोग र सद्भाव प्राप्त हुने विश्वास पनि उनले व्यक्त गरे।

राष्ट्रपति पौडेलले बुद्धको जन्मभूमि लुम्बिनीले दुई देशका जनताबीच आध्यात्मिक र सांस्कृतिक सम्बन्धको बलियो सेतु बनेको बताए। उनले जापानमा छिट्टै हुन लागेको आम निर्वाचनको सफलताको शुभकामना पनि व्यक्त गरे।

त्यस अवसरमा जापानकी प्रधानमन्त्री तकाइची सनायले नेपालको स्थायित्व जापान र समग्र क्षेत्रका लागि महत्वपूर्ण रहेको बताउँदै २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफल होस् भन्ने कामना व्यक्त गरिन्। उनले उक्त निर्वाचनमा जापानले पर्यवेक्षक पठाउने जानकारी पनि दिइन्।

प्रधानमन्त्री सनायले नेपाल र जापान लामो समयदेखिका घनिष्ठ मित्र राष्ट्र रहेको उल्लेख गर्दै जापानमा अध्ययनरत नेपाली विद्यार्थी र नेपाली हिमाल चढ्ने जापानी नागरिकका कारण जनस्तरको सम्बन्ध पनि प्रगाढ बन्दै गएको बताइन्। उनले सूचना प्रविधि क्षेत्र र लोकतन्त्र सुदृढीकरणमा जापानले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सोमबार जापान पुगेको हो। भ्रमणका क्रममा उनले जापानी व्यापारिक समुदायसँग अन्तरक्रिया गरेका थिए भने परराष्ट्र राज्यमन्त्री होरी इवाओसँग शिष्टाचार भेट गरेका थिए। साथै, उनले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षका अवसरमा आयोजित कार्यक्रममा विशेष सम्बोधन गरेका थिए।

राष्ट्रपति पौडेलले जापानस्थित नेपाली दूतावासको अवलोकन गरेका छन् भने जापानका सम्राट नारुहितोसँग पनि राजकीय शिष्टाचार भेट गरेका छन्। चारदिने जापान भ्रमण सकेर राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्कने कार्यक्रम छ।