निर्वाचन सुरक्षाबारे गृह मन्त्रालयको सबै सिडिओसँग भर्चुअल बैठक

167 Shares

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूसँग भर्चुअल बैठक गरेको छ।

गृह सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्लागत शान्ति–सुरक्षाको अवस्था, प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ को कार्यान्वयन, निर्वाचन आचारसंहिताको पालना, मतदानस्थलको अनुगमन तथा मतदानस्थलमा खटिने सुरक्षाकर्मी र कर्मचारी व्यवस्थापनबारे छलफल भएको थियो। साथै, आवश्यक सवारी साधनको व्यवस्था र मतपेटिका ढुवानीको तयारीबारे पनि समीक्षा गरिएको जनाइएको छ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकमा सीमा सुरक्षामा उच्च निगरानी राख्ने, छिमेकी मुलुकका समकक्षी निकायसँग समन्वय बढाउने, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्ने, होली पर्वको समयमा विशेष सतर्कता अपनाउने तथा सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्ने विषयमा गहन छलफल भएको थियो। जिल्ला सुरक्षा समितिलाई दिइएका निर्देशनहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको पनि उनले बताए।

बैठकमा गृह सचिव श्रेष्ठले आवश्यकताअनुसार जिल्ला सुरक्षा समितिको बैठक बसालेर प्रभावकारी रूपमा भूमिका निर्वाह गर्न सबै प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका थिए। बैठकमा सिडिओहरूका साथै मन्त्रालयका महाशाखा प्रमुख, विभागीय प्रमुख र अन्य अधिकारीहरूको सहभागिता रहेको थियो।