काठमाडौं । नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले निर्वाचनका लागि आवश्यक वातावरण बनाउने जिम्मेवारी सरकार र निर्वाचन आयोगको भएको बताउनुभएको छ।
मंगलबार काठमाडौंमा आयोजित निर्वाचनसम्बन्धी विज्ञहरूसँगको संवाद कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दलहरू भने निर्वाचनको मैदानमा प्रवेश गरिसकेको स्पष्ट पार्नुभयो। उहाँका अनुसार दलहरूले उम्मेदवार तय गरिसकेका छन् र प्रचारप्रसारसमेत तीव्र बनाइसकेका छन्।
उपसभापति भुसालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन आवश्यक संरचना तथा वातावरण निर्माण गर्ने दायित्व सरकार र निर्वाचन आयोगको भएको उल्लेख गर्नुभयो। उहाँले विगतका निर्वाचन अनुभवका आधारमा उम्मेदवारहरूले पनि राज्यका निकायबाट उचित तयारीको अपेक्षा गर्ने बताउनुभयो।
संविधान संशोधनको विषयमा बोल्दै उहाँले यो निरन्तर संवादको प्रक्रिया भएको र समयको आवश्यकताअनुसार संशोधन हुने बताउनुभयो। नयाँ बन्ने संसद्ले संविधान संशोधनको जिम्मेवारी लिने उहाँको भनाइ थियो।
उपसभापति भुसालले नेपाली काँग्रेसले निर्वाचनका लागि घोषणा–पत्र तयारीको काम अन्तिम चरणमा पुर्याइसकेको पनि जानकारी दिनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया