काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता जगन्नाथ खतिवडाले वर्तमान कम्युनिष्ट आन्दोलनको मूलधार नेपाली कम्युनिष्ट पार्टी नै भएको दाबी गर्नुभएको छ।
सोलु–काठमाडौँ सम्पर्क समन्वय समितिले शनिबार काठमाडौँमा आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा बोल्दै नेता खतिवडाले विचार, सिद्धान्त र समाजवादको लक्ष्यमा आधारित एकमात्र शक्ति नेपाली कम्युनिष्ट पार्टी भएको बताउनुभयो। उहाँका अनुसार पार्टी समाजवादको लक्ष्य प्राप्त गर्न अग्रसर शक्तिहरूको वैचारिक संयोग हो।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति इंगित गर्दै आफूलाई क्रान्तिकारी दाबी गर्ने केही शक्तिहरूले साम्राज्यवादी शक्तिको आडमा ‘जेन–जी’ आन्दोलनलाई दुरुपयोग गरिरहेको आरोप लगाउनुभयो। त्यस्ता शक्तिहरूले राष्ट्रिय एकता, जनताको शक्ति र देशभक्तिलाई कमजोर बनाउने प्रयास गरिरहेको उहाँको भनाइ थियो।
नेता खतिवडाले यस्ता प्रवृत्तिप्रति सचेत नहुँदा कम्युनिष्ट आन्दोलन सही दिशामा अघि बढ्न नसक्ने चेतावनी दिनुभयो। कम्युनिष्ट आन्दोलनको रक्षा नगरी समाजवादको लक्ष्य हासिल गर्न नसकिने उल्लेख गर्दै उहाँले समाजवाद जनताको जीवनस्तर परिवर्तन गर्ने मार्ग भएको स्पष्ट पार्नुभयो।
उहाँले नेपाली कम्युनिष्ट पार्टी माक्र्सवाद–लेनिनवादलाई आफ्नो वैचारिक आधार मानेर अघि बढिरहेको र सधैं विचारसहितको विकासको पक्षमा रहेको बताउनुभयो।
कार्यक्रममा उहाँले भन्नुभयो,
“आजको कम्युनिष्ट आन्दोलनको मूलधार नेपाली कम्युनिष्ट पार्टी हो, अरु कोही होइन। चुनावमा कुनै दलले बढी जनमत पाउनु संयोग हुन सक्छ, तर नेपाली कम्युनिष्ट पार्टी विचार, सिद्धान्त र समाजवादको लक्ष्यका लागि एकत्रित शक्तिको संयोग हो।”
उहाँले युवावर्गलाई लक्षित गर्दै आफूलाई क्रान्तिकारी भन्ने तर विचारहीन, सिद्धान्तहीन र साम्राज्यवादका पिछलग्गु बनेका प्रवृत्तिबाट सचेत रहन आग्रह गर्नुभयो।
नेता खतिवडाले नेपाली कम्युनिष्ट पार्टीले देशको प्रतिष्ठा र जनताको सम्मान वृद्धि गर्ने काम गरिरहेको उल्लेख गर्दै पार्टी कार्यकर्तालाई गाउँ–गाउँमा पुगेर निर्वाचन गतिविधिमा सक्रिय हुन आग्रह गर्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया