निर्वाचनमा नेकपा पहिलो पार्टी बन्ने दाहालको दाबी

166 Shares

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले आगामी फागुन २१ गते हुने निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गर्नुभएको छ।

शुक्रबार काठमाडौंमा आयोजित रुकुम पूर्वका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रत्यक्षतर्फ नेकपा पहिलो पार्टी बन्ने बताउनुभयो। स्वच्छ, निष्पक्ष र धाँदलीरहित निर्वाचन भएमा तथा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निष्ठापूर्वक भूमिका निर्वाह गरेमा आफूहरू अग्रस्थानमा रहने उहाँको दाबी थियो।

समानुपातिकतर्फ भने “नयाँ भनिने दलहरूको हावा चलेको” भन्दै केही कमजोर हुन सक्ने उहाँले स्वीकार गर्नुभयो। तर प्रत्यक्ष र समानुपातिक दुवै मत जोड्दा नेकपा नै पहिलो दल बन्ने सम्भावना रहेको उहाँको तर्क छ। साथै निर्वाचन भाँड्ने उद्देश्यले केही तत्व अझै सक्रिय रहेको र जनमानसमा पनि निर्वाचनबारे आशंका कायमै रहेको उहाँले बताउनुभयो।

कार्यक्रममा दाहालले रुकुम पूर्वका लागि चुनावी प्रतिबद्धता पनि सार्वजनिक गर्नुभयो। उहाँका अनुसार भारतको सीमाना कोइलावासदेखि चीनको सीमा तिब्बतसम्म जोड्ने सडक मार्ग, चुनवाङ–रुकुमकोट सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने, रुकुमको फलाम खानी उत्खनन गर्ने योजना अघि सारिएको छ।

त्यस्तै, सबै वडामा वर्षभरि सवारी साधन चल्ने गरी सडक स्तरोन्नति, जडिबुटी प्रशोधन केन्द्र स्थापना तथा खाम मगर क्षेत्रलाई स्वायत्त क्षेत्र बनाउने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।