कांग्रेसको प्रधानमन्त्री उम्मेदवार नयाँ युगको प्रतिनिधि : विश्वप्रकाश शर्मा

170 Shares

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युग र नयाँ सन्दर्भको प्रतिनिधि भएको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै उनले विगतका कमजोरी स्वीकार्दै आत्मालोचनासहित कांग्रेस परिवर्तनको मार्गमा अघि बढिरहेको बताए। उनले अहिलेका अन्य उम्मेदवारहरू पुरानो राजनीतिक सन्दर्भसँग जोडिएको संकेत गर्दै कांग्रेसको उम्मेदवार भने नयाँ सोच र नयाँ दिशाको प्रतिनिधित्व गर्ने व्यक्तित्व भएको दाबी गरे।

उनले प्रतीकात्मक रूपमा भने, “कोही भदौ २३ का, कोही भदौ २४ का उम्मेदवार हुनुहुन्छ, तर नेपाली कांग्रेसको उम्मेदवार माघ १ को हो,” भन्दै कांग्रेसले विगतका अनुभवलाई आत्मसात गर्दै नयाँ युगतर्फ उन्मुख नेतृत्व अघि सारेको बताए।

शर्माले पार्टीले आफ्ना कमजोरीहरू स्वीकार गर्दै सुधारको बाटो रोजेको उल्लेख गरे। उनले देशलाई अहिले सबैभन्दा बढी आवश्यक कुरा सद्भाव, सुशासन र समुन्नति भएको बताए।

“अहिले नेपाली समाजलाई सबैभन्दा बढी चाहिएको कुरा सद्भाव हो,” उनले भने, “जित र हार त राजनीतिक प्रक्रियाको हिस्सा हो, तर देशलाई अघि बढाउन सबैलाई जोड्ने वातावरण आवश्यक छ।”

उनले कांग्रेस अब आत्मसमीक्षासहित एकताबद्ध भएर देश परिवर्तनको अभियानमा अघि बढिरहेको दाबी गरे।