निर्वाचन घोषणा पत्र तयारीमा एमाले, विभिन्न क्षेत्रबाट सुझाव संकलन

205 Shares

काठमाडौं – नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि घोषणा पत्र (घोषणापत्र) तयारी प्रक्रिया अघि बढाएको छ। पार्टीले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै घोषणा पत्र लेखनका लागि पार्टी सङ्गठन, जनवर्गीय सङ्गठन तथा विभिन्न क्षेत्रसँग सुझाव संकलन गरिरहेको जनाएको छ।

एमालेका प्रचार संयोजक मीनबहादुर शाहीका अनुसार घोषणा पत्रलाई समावेशी र व्यवहारिक बनाउन विभिन्न तहबाट दुई–तीन चरणमा सुझाव संकलन गरिसकिएको छ। प्राप्त सुझावलाई समेटेर अन्तिम मस्यौदा तयार पारिने उनले बताए।

घोषणा पत्र तयार गर्न एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा मस्यौदा कमिटी गठन गरेको छ। कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन्।

एमालेले घोषणा पत्रमार्फत आगामी पाँच वर्षका लागि आफ्नो नीतिगत प्राथमिकता, आर्थिक कार्यक्रम, सुशासन, पूर्वाधार विकास र रोजगारी सिर्जनासम्बन्धी योजना सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ।