प्रलोपा–एमालेको संयुक्त निर्वाचन परिचालन कमिटी गठन, देवकोटा संयोजक

189 Shares

काठमाडौं । चुनावी तालमेल गरेका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र नेकपा एमालेले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरेका छन्।

मुसिकोटमा बसेको दुवै दलको संयुक्त बैठकले ५५५ सदस्यीय कमिटी गठन गरेको हो। नेकपा एमालेका जिल्ला अध्यक्ष तथा उम्मेदवार नन्दराम देवकोटाको संयोजकत्वमा कमिटी निर्माण गरिएको जानकारी बुधबार आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत दिइएको छ। संयोजक देवकोटाका अनुसार भोलिदेखि नै संयुक्त प्रचार अभियान सुरु गरिनेछ।

देवकोटाले पार्टी केन्द्रको चुनावी तालमेलअनुसार आफ्नो उम्मेदवारी फिर्ता लिँदै प्रलोपाका उम्मेदवार जनार्दन शर्मालाई जिताउन सक्रिय रूपमा लाग्ने बताएका छन्। जिल्लामा साझा उम्मेदवारलाई जिताउने मुख्य जिम्मेवारी आफ्नो काँधमा आएको उल्लेख गर्दै उनले उक्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाए।

उनले एमालेका कार्यकर्ता तथा समर्थकलाई प्रत्यक्षतर्फ आँखा चुनाव चिन्हमा मतदान गरी जनार्दन शर्मालाई विजयी गराउन तथा समानुपातिकतर्फ सूर्य चिन्हमा मतदान गर्न अपिल गरेका छन्।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्माले आफू विगतमा पनि धेरैपटक साझा उम्मेदवारका रूपमा चुनाव लडेको स्मरण गर्दै यस पटक पनि सोही अवसर प्राप्त हुनु गौरवको विषय भएको बताए। उनले जिल्लाका विभिन्न दलहरूसँगको सहकार्यमा एकीकृत रुकुम विकासको अवधारणा अघि बढाएको र अब एमालेसहितको सहकार्यमा बाँकी काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

शर्माले एमालेसँगको तालमेलले आफ्नो जितलाई अझ सुनिश्चित बनाएको दाबी पनि गरे। उनले २०६४ र २०७० बाहेकका निर्वाचनमा जिल्लामा साझा उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको अनुभव सुनाउँदै यस पटक पनि मतदाताको साथ पाउने विश्वास व्यक्त गरे।