आगामी निर्वाचनमा कांग्रेस नै पहिलो पार्टी बन्छ : डा. शेखर कोइराला

152 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा कांग्रेस नै संसद्को पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ।

मंगलबार पार्टीको सम्पर्क कार्यालयमा पत्रकारहरूसँगको भेटघाटमा बोल्दै उहाँले सामाजिक सञ्जालमा नयाँ दलहरूको प्रचार बढी देखिए पनि कांग्रेसले जनमत नगुमाएको बताउनुभयो।

“कांग्रेस अबको चुनावबाट पनि संसद्को पहिलो पार्टी बन्छ। सामाजिक सञ्जालमा प्रचार फरक ढंगले भए पनि कांग्रेसले जनमत गुमाएको छैन,” कोइरालाले भन्नुभयो। सबै निर्वाचन क्षेत्रमा उम्मेदवार रहेकाले समानुपातिक मत बढ्ने र सबै दल एक्लाएक्लै चुनाव लडेकाले प्रत्यक्षतर्फ पनि सिट संख्या बढ्ने उहाँको दाबी छ।

उहाँले चुनाव कांग्रेसका लागि आफ्नो सामर्थ्य जाँच्ने समय भएकाले आन्तरिक विवादलाई थाती राखेर सबैले चुनावी परिणाममा केन्द्रित हुनुपर्ने बताउनुभयो। पार्टीभित्र मतभेद सधैं रहने भए पनि ती विषय आन्तरिक रूपमै समाधान हुने उहाँको भनाइ थियो।

चुनावी परिणामबाट पार्टीलाई घाटा पुगे सिंगो संगठनको छविमा असर पर्ने भन्दै उहाँले पार्टीको शक्ति कमजोर हुने गरी कसैले पनि काम नगर्ने विश्वास व्यक्त गर्नुभयो।