काठमाडौं । राष्ट्रिय सभाको जारी बैठकमा केही सांसदहरूले राष्ट्रिय झन्डाको दुरुपयोग भइरहेको भन्दै त्यसलाई रोक्न कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
विशेष समयमा बोल्दै नेकपा सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस र र्यालीमा नेपाली राष्ट्रिय झन्डाको प्रयोग बढ्दो रूपमा भइरहेको उल्लेख गर्दै यसलाई तत्काल रोक्नुपर्ने बताइन्।
उनले चुनावी प्रचारका क्रममा प्रयोग गरिएका झन्डाहरूको उचित संरक्षण र व्यवस्थापनबारे कुनै अनुगमन हुन नसकेको दाबी गरिन्। घाँटीमा माला झैँ लगाइएका झन्डाहरू पछि कहाँ पुगे, कसरी राखिए र कसले स्याहारसम्भार गर्यो भन्नेबारे स्पष्ट जानकारी नहुने अवस्था रहेको उनको भनाइ थियो।
बेलवासेले राष्ट्रिय झन्डा राजनीतिक अभियानका लागि प्रयोग गर्नु अनुचित भएको भन्दै यसको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध लगाउन सरकारसँग आग्रह गरिन्।
उनले भनिन्, “नेपाली झन्डालाई चुनावी अभियानमा प्रयोग गर्न हुँदैन। यसलाई पूर्ण रूपमा रोक्नुपर्छ। प्रयोग भएका झन्डाको अवस्था के छ भन्नेबारे खोजबिन गर्न सकिने अवस्था छैन। त्यसैले झन्डाको दुरुपयोग रोक्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ।”
उनले राष्ट्रिय झन्डाको मर्यादा जोगाउन आवश्यक कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न पनि जोड दिइन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया