काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनका लागि उम्मेदवार चयन प्रक्रियामा पार्टीको विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताएका छन्।
उम्मेदवार छनोटको अन्तिम चरणमा आइपुग्दा केन्द्रबाट टिकट बाँड्ने परिपाटी गलत भए पनि वर्तमान परिस्थितिले बाध्यता सिर्जना गरेको उनले स्वीकार गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले तल्लो तहबाटै उम्मेदवार छानिनुपर्ने पक्षमा आफू रहेको बताएका छन्।
पार्टीको पुरानो विधान अनुसार १ सय ६५ क्षेत्रबाट सिफारिस आइसकेकाले केन्द्रबाट निर्णय गर्नुपरेको उनले बताए। कतिपय क्षेत्रमा दर्जनौं नाम सिफारिस भएको र कतिपय ठाउँमा सिफारिस नमिलेको अवस्थामा जिम्मेवारी आफूमाथि आएको उनले स्पष्ट पारेका छन्।
थापाले पार्टीभित्रको आन्तरिक विवाद र कानूनी झमेलाका कारण टिकट वितरणमा ढिलाइ भएको र जिम्मेवारी सम्हाले लगत्तै निर्वाचन आयोग धाउनुपर्ने अवस्था आएको बताएका छन्। केही नेताहरूले समय नपुग्दा कानूनी बाटो खोजेकाले समयको अत्यधिक चाप परेको उनले जानकारी गराएका छन्। आइतबार साँझसम्म सबैलाई मिलाएर लैजाने प्रयास गर्दा समय घर्किएको उनले उल्लेख गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया