काठमाडौं । पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का १२ जना केन्द्रीय सदस्यले सामूहिक रूपमा राजीनामा दिएका छन्।
आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।
पार्टी एकताको क्रममा वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट नेकपामा समाहित भएका ती नेताहरूले पार्टीभित्र आफूहरूलाई निरन्तर उपेक्षा गरिएको निष्कर्ष निकालेका छन्।
राजीनामा पत्रमा उनीहरूले आफ्नो समूहका १२ जनामध्ये राष्ट्रियसभा, समानुपातिक तथा प्रत्यक्ष निर्वाचन—तीनै तहमा एक जनासमेत उम्मेदवार नबनाइनु गम्भीर अपमान भएको उल्लेख गरेका छन्। साथै, पार्टी नेतृत्वले आफ्नो योगदानको कदर नगरेको र संगठनात्मक निर्णयहरू एकपक्षीय रूपमा गरिएको आरोप लगाएका छन्।
संयुक्त विज्ञप्तिमा पार्टीको नीति, सिद्धान्त र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको उल्लेख गर्दै यस्तो अवस्थामा पार्टीमा बसिरहनु अर्थहीन भएको जनाइएको छ।
यो सामूहिक राजीनामालाई नेकपाभित्रको शक्ति सन्तुलन र बढ्दो आन्तरिक असन्तोषको गम्भीर संकेतका रूपमा हेरिएको छ। विश्लेषकहरूका अनुसार यसले आगामी राजनीतिक समीकरण र पार्टीको संगठनात्मक एकतामा थप प्रभाव पार्न सक्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया