मन्त्री खरेल भन्छन्: प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने निर्णय भएको छैन

178 Shares

काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नेबारे हालसम्म कुनै निर्णय नगरेको स्पष्ट पार्नुभएको छ।

सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खरेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार बन्ने वा नबन्ने विषयमा कुनै निष्कर्षमा नपुगेको बताउनुभयो।

केही दिनयता राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उहाँको उम्मेदवारीको चर्चा चले पनि मन्त्री खरेलले त्यसलाई अस्वीकार गर्नुभएको छ। उहाँले यस विषयमा अहिलेसम्म न त सार्वजनिक अभिव्यक्ति दिएको न त निर्णय नै गरेको स्पष्ट गर्नुभयो।

मन्त्री खरेलले भन्नुभयो, “मैले अहिलेको मितिसम्म चुनाव लड्ने अथवा नलड्ने भन्नेबारे सार्वजनिक रूपमा केही भनेको छैन, निर्णय पनि गरेको छैन। आवश्यक परे अर्को नियमित पत्रकार सम्मेलनमा जानकारी गराउँछु।”