राष्ट्रिय सभाले बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित गर्यो

157 Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा राष्ट्रिय सभाले शोक प्रस्ताव पारित गरेको छ।

आइतबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले शोक प्रस्ताव प्रस्तुत गरे, जसलाई सभाले सर्वसम्मतिले पारित गरेको हो। बोहराको गत पुस ३० गते निधन भएको थियो। उनी सुदूरपश्चिम प्रदेश, कञ्चनपुर बेदकोटका मूल निवासी हुन् र पछिल्लो समय ललितपुर महालक्ष्मीस्थान, इमाडोलमा बस्दै आएका थिए।

वि.सं. २०२२ सालमा अखिल भारतीय नेपाली विद्यार्थी संघको सदस्यता लिएर बोहराले राजनीतिक जीवन सुरु गरेका थिए। भिमदत्त पन्त र वि.पी. कोइरालाबाट प्रभावित भएर उनले पाँच वर्ष जेल जीवन बिताए। उनी कञ्चनपुर काँग्रेसका संस्थापक नेता पनि थिए।

प्रजातन्त्र स्थापना पश्चात् २०४८ सालमा उनले जिल्ला विकास समिति कञ्चनपुरको सभापति भएर काम गरे। २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका राजनीतिक सल्लाहकारसमेत भएका थिए। २०७० सालमा संविधान सभा सदस्य भएर संविधान निर्माणमा योगदान दिएका बोहराले प्रतिनिधिसभा अन्तर्गतको विकास समितिमा पनि काम गरेका थिए।

बलदेव बोहराको निधनमा राष्ट्रिय सभाले आइतबार शोक प्रस्ताव पारित गर्दै उनको योगदानको स्मरण गरेको छ।