आज साउने संक्रान्ति पर्व मनाइँदै, यस्ताे छ परम्परा

361 Shares

काठमाडौँ । आज साउने संक्रान्ति पर्व घरघरमा मनाइँदैछ। सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने अर्थात कर्कट संक्रान्ति पर्व स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाउने गरिन्छ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन साउने संक्रान्तिको रुपमा मनाउने प्राचिन परम्परा छ । 

साउनदेखि नै सूर्य दक्षिण हुँदै जाने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ । आज विशेष गरी लुतो फल्ने दिनको रुपमा पनि मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविदहरु बताउँछन् । 

परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानी अमला, कागती, अम्बा, नास्पाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई हिन्दु धर्मावलम्बीले विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाउने गर्छन् । महिलाले हरियो चुरालगायत कपडा लगाएर यो महिनाभर सोमबारे व्रत लिने चलन छ ।