काठमाडौं । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि करविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष केशवबहादुर सुनारले सरकारले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै चरणबद्ध आन्दोलनमा जानुपरेको बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीका गरगहनामा लगाइएको विलासिता कर र बहुमुल्य हिरा पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज नगरेसम्म आन्दोलन नछोड्ने चेतावनी दिनुभयो । उहाँले सुनचाँदीका गरगहनामा अनावश्यक कर लगाउँदा साना व्यवसायी तथा उपभोक्ता मारमा पर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने तथा सुनचाँदीको कारोबारको लागि प्रष्ट नियमावली बनाउनसमेत माग गर्नुभयो ।
सरकारले अन्तर्राष्ट्रिय प्रवृत्ति अनुसार विलासिता वस्तुमा कर लगाउने नीति लिएको भए पनि व्यवसायीहरूले त्यसलाई अव्यवहारिक भन्दै हटाउन माग गर्दै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया