सरकारले संघीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक तथा बाल विकास सहजकर्तालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने नीतिगत आधार तयार गरेको छ । नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले अस्थायी प्रकृतिका कर्मचारी तथा शिक्षकलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्ने सरकारको योजना रहेको बताउनुभयो ।
यसका लागि चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा कोषका लागि विनियोजित एक अर्ब ८० करोड ६३ लाख रुपैयाँमध्येबाट आवश्यक व्यवस्था अघि बढाइएको उहाँले जानकारी दिनुभयो । सरकारले क्रमशः प्रदेश र स्थानीय तहसँग समन्वय गरी अस्थायी प्रकृतिका सबै कर्मचारी तथा शिक्षकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउनेछ । त्यस्तै, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेत कोषमा समेट्न स्थानीय तहको सहभागिता प्रोत्साहन गरिने र श्रमिकका लागि एक प्रतिशत बराबरको सहयोगदान संघीय सरकारले उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
प्रधानमन्त्री, मन्त्री तथा संघीय सांसदलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । सरकारले सार्वजनिक खरिद प्रक्रियामा सामाजिक सुरक्षा कोषमा आबद्धतालाई अनिवार्य बनाउने तथा विभिन्न निकायमा छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गर्ने तयारीसमेत गरेको छ ।
कोषलाई श्रमिकको योगदान, रोजगारदाताको जिम्मेवारी र सरकारको कल्याणकारी प्रतिबद्धताबाट निर्माण भएको साझा सुरक्षा प्रणालीका रूपमा विकास गरिने मन्त्री बादीको भनाइ छ । उहाँले कोषको पारदर्शिता, प्रभावकारी व्यवस्थापन र दीर्घकालीन वित्तीय दिगोपना सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया