सरकारले काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित भई होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासी परिवारलाई सेल्टर खाली गर्न निर्देशन दिएपछि उनीहरू थप अन्योल र भयमा परेका छन् । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा बसिरहेका परिवारलाई जिल्ला प्रशासन कार्यालयले मंसिर ११ गतेसम्म सेल्टर खाली गर्न सूचना जारी गरेको छ । उक्त केन्द्रमा हाल ५९ जना आश्रित छन् ।
सात परिवारको नाममा जग्गा रहेको पाइएको छ भने जग्गा नभएका १२ परिवारका लागि सम्बन्धित पालिकामार्फत जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ। सरकारले घरभाडा खर्च उपलब्ध गराउने सुविधा पनि दिएको जनाएको छ । तर, विस्थापित परिवारले स्थायी आवासको व्यवस्था नगरी सेल्टरबाट हटाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्।
उनीहरूले आफूहरूलाई पहिले बसोबास गर्दै आएको स्थान वा आसपासमै उचित व्यवस्थापन गर्न माग गरेका छन् । विस्थापित परिवारका अनुसार सरकारले घर भत्काएको १५ दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि सात महिना बितिसक्दा समेत स्थायी आवासको टुंगो लागेको छैन ।
उनीहरूले आवासको सुनिश्चितता नभएसम्म होल्डिङ सेन्टर खाली नगर्न सरकारसँग आग्रह गरेका छन् । बालबालिका, ज्येष्ठ नागरिक, बिरामी तथा अपांगता भएका व्यक्तिको अवस्थासमेत ध्यानमा राखेर वैकल्पिक व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया