अध्यादेशको विरोधमा नास्टका कर्मचारी आन्दोलनमा, महावीर पुनको राजीनामा माग

9 Shares

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीहरू नयाँ अध्यादेश र नियमावलीको विरोधमा आन्दोलनमा उत्रिएका छन् । शुक्रबार प्रतिष्ठान परिसरमा विरोध प्रदर्शन गर्दै कर्मचारीहरूले सरोकारवालासँग छलफल नगरी नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ ल्याइएको भन्दै असन्तुष्टि जनाएका हुन् । उनीहरूले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नैतिक जिम्मेवारी लिँदै तत्काल राजीनामा दिनुपर्ने मागसमेत गरेका छन् ।

प्रदर्शनमा बोल्दै प्राविधिक अधिकृत समुन्द्र कँडेलले नयाँ अध्यादेश तथा नियमावली वैज्ञानिक र कर्मचारीमैत्री नभएको बताउनुभयो । सुधारका नाममा विद्यमान संस्था कमजोर बनाउने, दक्ष जनशक्ति पलायन गराउने र विज्ञान अनुसन्धानको वातावरण बिगार्ने काम स्वीकार्य नहुने उहाँको भनाइ थियो । उहाँले अध्यादेश तत्काल खारेज गरी सरोकारवालाको सहभागितामा विज्ञानमैत्री ऐन, नियमावली र नीति निर्माण गर्न माग गर्नुभयो ।

आन्दोलनरत कर्मचारीहरूले संस्थाको स्वायत्तता सुनिश्चित गर्न, खुला प्रतिस्पर्धाबाट सक्षम नेतृत्व चयन गर्न, पुराना कर्मचारीको सेवा सुरक्षा कायम गर्न तथा प्रयोगशालाको सुदृढीकरण र अनुसन्धान बजेट वृद्धि गर्न माग गरेका छन् । साथै मन्त्रालयको हस्तक्षेप बन्द गरी वैज्ञानिकलाई स्वतन्त्र रूपमा अनुसन्धान गर्ने वातावरण बनाउनुपर्ने उनीहरूको जोड छ । माग सम्बोधन नभए आन्दोलन थप सशक्त बनाउने उनीहरूले चेतावनी दिएका छन् ।