कुनै समय नयाँ र नौलो फलका रूपमा हेरिएको ड्रागन फ्रुट खेती पछिल्लो समय कर्णाली प्रदेशमा विस्तार हुँदै गएको छ । विशेषगरी सुर्खेतको वीरेन्द्रनगर र भेरी नदी आसपासका क्षेत्रमा किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । कम पानीमा पनि खेती गर्न सकिने, एकपटक रोपेपछि लामो समयसम्म उत्पादन लिन सकिने र बजारमा राम्रो मूल्य पाउने भएपछि किसानले यसलाई आम्दानीको नयाँ स्रोत बनाउन थालेका छन् ।
सुर्खेतमा हाल ४५ जना किसानले करिब ७० हेक्टर क्षेत्रफलमा ड्रागन फ्रुट खेती गरिरहेका छन् । वीरेन्द्रनगर–११ ग्रागेतालका कृष्ण अधिकारीले करिब ४० लाख रुपैयाँ लगानीमा २३ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक खेती सुरु गरेका छन् । उनको फार्ममा ड्रागन फ्रुटसँगै कुरिलो, फूलखेती र मौरीपालनसमेत भइरहेको छ ।
उत्पादित फल सुर्खेतमै बिक्री हुनुका साथै नेपालगञ्ज र काठमाडौंसम्म पठाउने गरिएको छ । कर्णालीमा ड्रागन फ्रुट खेतीको सम्भावना बढ्दै गए पनि बजार व्यवस्थापन, भण्डारण, आधुनिक प्रविधि र सरकारी सहयोगको किसानहरुलाई आवश्यकता देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया