सात महिना बित्दासमेत स्थायी बसोबासको व्यवस्था भएन, पुनःस्थापनाको प्रतीक्षामा रहेका सुकुमवासीलाई होल्डिङ सेन्टरसमेत दुई दिनभित्र खाली गर्न सरकारको उर्दी

64 Shares

नदी किनारका बस्तीबाट विस्थापित भएका सुकुमवासी परिवारले सात महिना बितिसक्दा पनि स्थायी आवास र पुनःस्थापनाको व्यवस्था पाउन सकेका छैनन् । सरकारले १५ दिनभित्र वैकल्पिक व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि लामो समय बित्दा उनीहरू अझै अस्थायी होल्डिङ सेन्टरमै बस्न बाध्य छन् । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका थापाथलीबाट विस्थापित १९ परिवारका ५९ जनालाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले मंसिर ११ गते दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न निर्देशन दिएको छ ।

उनीहरूमध्ये १७ जना बालबालिका छन् । र ७ परिवारका सदस्यको नाममा जग्गा भेटिएको छ भने बाँकी १२ परिवारका लागि सम्बन्धित स्थानीय तहबाट जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ । घरभाडाबापतको सुविधा उपलब्ध गराउने पनि प्रशासनको भनाइ छ । तर, विस्थापित परिवारले भने वैकल्पिक बसोबासको सुनिश्चितता नगरी सेन्टर छाड्न दिएको निर्देशनप्रति असन्तुष्टि जनाएका छन् ।

उनीहरू कहाँ जाने र कसरी जीवन गुजारा गर्ने भन्ने अन्योलमा छन् । होल्डिङ सेन्टरमा रहेका वृद्धवृद्धा, दीर्घरोगी, अपांगता भएका व्यक्ति तथा बालबालिका खानपान, स्वास्थ्य उपचार र सुरक्षित बसोबासको अभाव झेलिरहेका छन् । कतिपय बिरामीले नियमित उपचारसमेत पाउन नसकेको गुनासो गरेका छन् । सरकारले पुनःस्थापना, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा र राहत उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि ती व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको विस्थापितहरूको गुनासो छ ।

सरकारी निकायबीच जिम्मेवारीको विषयमा समन्वय हुन नसक्दा उनीहरूको पुनःस्थापनाको प्रक्रिया अन्योलमा परेको छ । स्थायी आवासको टुंगो नलाग्दै अस्थायी आश्रयस्थलसमेत छाड्नुपर्ने भएपछि विस्थापित परिवार फेरि सडकमा पुग्ने चिन्तामा छन् ।