बंगलादेशमा राजनीतिक तनाव चुलियो, २८ जिल्लामा विस्फोट र आगजनी

12 Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किने घोषणा गरेसँगै त्यहाँको राजनीतिक वातावरण थप तनावग्रस्त बनेको छ । प्रतिबन्धित अवामी लिगले आह्वान गरेको लकडाउनका क्रममा राजधानी ढाकासहित २८ जिल्लामा विस्फोट, आगजनी र झडपका घटना भएका छन् ।

हिंसात्मक घटनामा कम्तीमा चार जना घाइते भएका छन् भने विभिन्न स्थानमा चार जनाको मृत्यु भएको समाचारमा उल्लेख छ । सिलहट, राजशाही, बारीसाल र फरीदपुरमा मोहम्मद युनुससँग सम्बन्धित ग्रामीण बैंकका शाखासमेत आगजनीको निशानामा परेका छन् ।

घटनापछि सरकारले सम्भावित जोखिमलाई ध्यानमा राख्दै संवेदनशील क्षेत्रहरूमा सुरक्षा निगरानी बढाएको छ । प्रहरीले पछिल्लो २४ घण्टामा राजधानी ढाकाबाट मात्रै ५६५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि सत्ता गुमाएकी हसिना हाल भारतमा बस्दै आएकी छन् । मृत्युदण्डको सजाय सुनाइएपछि पनि उनले डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी हुन् । उनको घोषणापछि बंगलादेशमा राजनीतिक गतिविधि थप तीव्र बनेको छ ।

पछिल्ला घटनाक्रमले बंगलादेशमा राजनीतिक अस्थिरतासँगै शान्ति सुरक्षाको चुनौतीसमेत बढाएको छ ।