काठमाडौं । मकवानपुर प्रहरीले ११७ किलो ९१० ग्राम अवैध गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंसिर ३ गते राति १ः४० बजे त्रिभुवन राजपथअन्तर्गत भीमफेदी गाउँपालिका–२ भैंसेस्थित प्रहरी चेकपोस्टमा उक्त कार फेला परेको हो।
थाहा नगरपालिकाको पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा.अ.ब ४१३१ नम्बरको निलो कारलाई प्रहरीले नियमित जाँचका लागि रोकेको थियो। तर प्रहरीलाई देख्नेबित्तिकै चालक गाडीबाट ओर्लिएर अँध्यारोको मौका छोप्दै फरार भएका थिए।
चालक फरार भएपछि शंका लागेर प्रहरीले कारको खानतलासी गरेको थियो। सो क्रममा कारको डिक्कीभित्र लुकाएर राखिएका नौ वटा पोकामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
कारबाट ११७ किलो ९१० ग्राम गाँजा बरामद भएपछि प्रहरीले गाँजासहित कार नियन्त्रणमा लिएको हो।
फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धानसमेत गरिरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया