देउसीभैलोबाट विद्यालयमा आइटी कक्षा सञ्चालन गर्ने पहल

21 Shares

काठमाडौं । भोजपुरको अरुण गाउँपालिका–७ सिके्रटारस्थित सगरमाथा माध्यमिक विद्यालयमा सूचना प्रविधि (आइटी) कक्षा सञ्चालन गर्ने उद्देश्यले देउसीभैलो कार्यक्रममार्फत रकम जम्मा गरिएको छ ।

विद्यालयमा प्रविधिमैत्री शिक्षाको विकास गर्दै विद्यार्थीलाई आधुनिक सूचना प्रविधिसम्बन्धी ज्ञान र सीप प्रदान गर्ने लक्ष्यका साथ स्थानीयवासीको सक्रियतामा सामूहिक देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको हो ।

विद्यालयमा आइटी कक्षा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन स्थानीयवासी, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तिको सहभागितामा देउसीभैलो कार्यक्रम भइरहेको अरुण गाउँपालिका–७ का वडाध्यक्ष कुमार थापाले बताए ।

उनका अनुसार स्थानीयक जनसहभागिता र सामूहिक प्रयासबाट विद्यालयको शैक्षिक विकासमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । सोमबारबाट सञ्चालन गरिएको देउसीभैलो कार्यक्रमबाट करिब रु एक लाख रकम जम्मा भइसकेको वडाध्यक्ष थापाले जानकारी दिए ।

स्थानीयवासीको उत्साहजनक सहभागिताले विद्यालयमा आइटी कक्षा सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने काम भइरहेको उनको भनाइ छ । ग्रामीण क्षेत्रका विद्यार्थीलाई सूचना प्रविधिसम्बन्धी शिक्षा प्रदान गर्न आवश्यक वातावरण निर्माण गर्ने लक्ष्यसहित देउसीभैलोबाट रकम जम्मा भइरहेको उनले बताए ।

विद्यालयमा आइटी कक्षा सञ्चालन भएपछि विद्यार्थीलाई कम्प्युटर तथा आधुनिक प्रविधिसम्बन्धी आधारभूत ज्ञान हासिल गर्न सहज हुने वडाध्यक्ष थापाले बताए ।

वर्तमान समयमा सूचना प्रविधिको महत्व बढ्दै गएको अवस्थामा विद्यालय तहदेखि नै विद्यार्थीलाई प्रविधिसम्बन्धी ज्ञान प्रदान गर्न आवश्यक रहेको बताइन्छ । स्थानीयवासीको जनसहभागितामा सञ्चालन भइरहेको देउसीभैलो कार्यक्रमले विद्यालयको शैक्षिक विकासमा सहयोग पुग्ने स्थानीयवासी टेकबहादुर बस्नेतले बताए ।

चाडपर्वका अवसरमा परम्परागत देउसीभैलो संस्कृतिको संरक्षण गर्दै सामुदायिक विद्यालयको विकासका लागि आर्थिक स्रोत जुटाउने अभियान सकारात्मक रहेको छ । स्थानीय अगुवा विमल खड्का, श्रीकुमार राई, लक्ष्मीप्रसाद अधिकारी, टेकबहादुर खड्कालगायतको अगुवाइमा देउसीभैलो कार्यक्रम सञ्चालन भइरहेको छ ।

स्थानीयवासीको सामूहिक प्रयासबाट विद्यालयमा प्रविधिमैत्री शैक्षिक वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ ।