भारतसँगको यू–१९ महिला क्रिकेट शृंखलाका लागि नेपाली टोली घोषणा

19 Shares

काठमाडौं । भारतविरुद्ध हुने यू–१९ महिला ट्वान्टी–२० क्रिकेट शृंखलाका लागि नेपालले १५ खेलाडी सम्मिलित टोली सार्वजनिक गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सोनी पाख्रिनको नेतृत्वमा नेपाली टोलीको नाम सार्वजनिक गरेको हो। नोभेम्बर १२ देखि २२ तारिखसम्म भारतमा सञ्चालन हुने शृंखलामा नेपालले प्रतिस्पर्धा गर्नेछ।

घोषित टोलीमा कप्तान पाख्रिनसँगै रचनाकुमारी चौधरी, रीया शर्मा, प्रिन्सा रानामगर, टीका साह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनीषा चौधरी, आशिकाकुमारी महरा, आस्ना चौधरी, प्रथा श्रेष्ठ, ज्योत्स्निका मरासिनी, पूर्णिमा राजवंशी र तिर्सना विश्वकर्मा रहेका छन्।

आगामी वर्ष आयोजना हुने यू–१९ महिला विश्वकपलाई मध्यनजर गर्दै नेपाली टोलीले भारत भ्रमण गर्न लागेको हो। विश्वकपको तयारीकै क्रममा नेपालले यसअघि चीनमा पनि प्रतियोगिता खेलेको थियो। उक्त प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा गरेको थियो।