अपराधको आधुनिक स्वरूपविरुद्ध कडा कदम चाल्छु: आईजीपी केसी

7 Shares

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले नेपाल प्रहरीको नेतृत्व सम्हाल्दै अपराधका आधुनिक स्वरूपविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार दज्र्यानी चिह्न ग्रहण गरेपछि सम्बोधन गर्दै उनले साइबर अपराध, क्रिप्टो कारोबार र संगठित अपराधका चुनौती सामना गर्न प्रहरी संगठनलाई प्रविधिमैत्री र थप विशिष्टीकृत बनाउने बताएका हुन् ।

बदलिँदो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरीको कार्यशैलीमा रूपान्तरण आवश्यक रहेको उनले औँल्याए । साइबर ठगी, डीपफेक, भ्रामक सूचना तथा खुला सिमानाका कारण उत्पन्न चुनौती नियन्त्रण गर्न गृह मन्त्रालयसँगको समन्वयमा थप प्रभावकारी योजना अघि बढाउने उनको भनाइ छ ।

संस्थागत सुदृढीकरणमा जोड दिँदै केसीले प्रहरीभित्र तल्लो तहका कर्मचारीका गुनासो सम्बोधन गर्न सचिवालय मातहत रहने गरी तत्कालै ‘विशेष गुनासो सुनुवाइ संयन्त्र’ स्थापना गर्ने घोषणा गरे ।

सरुवा, बढुवा र व्यावसायिक निष्पक्षतामा सुधार गर्दै जुनियर प्रहरी अधिकृतको मनोबल उकास्ने र सिनियर अधिकृतलाई थप जवाफदेही बनाउने विषयमा आफू केन्द्रित रहने उनले बताए ।

जलवायु परिवर्तन र प्राकृतिक विपद्को सामना गर्न प्रहरीको क्षमता अभिवृद्धि गर्ने उल्लेख गर्दै उनले त्यसका लागि पर्याप्त स्रोतसाधन र कानुनी स्पष्टता आवश्यक रहेकोमा जोड दिए ।

विगतका द्वन्द्व, भूकम्प र कोभिड–१९ महामारीका बेला नेपाल प्रहरीले देखाएको वीरता र सेवाभावको स्मरण गर्दै उनले आगामी दिनमा नागरिकले प्रहरी देख्दा डर नभई भरोसा गर्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता दोहोर्‍याए ।