काठमाडाैं । भारतीय विदेश सचिव विक्रम मिस्रीले भोटेकोशी बाढीबाट क्षतिग्रस्त नेपालको पूर्वाधार पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सहयोग गर्न भारत तयार रहेको बताउनुभएको छ ।
बुधवार नेपालको भ्रमणका क्रममा परराष्ट्र सचिव अमृतबहादुर राईसहितको नेपाली प्रतिनिधिमण्डलसँगको छलफलमा उहाँले बाढीबाट नेपालका पूर्वाधारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै पुनर्निर्माणका लागि भारत सहयोग गर्न इच्छुक रहेको बताउनुभएको हो ।
उहाँले यसअघि पनि यस विषयमा छलफल भएको र नेपालले पुनर्निर्माण तथा पुनःस्थापनाको चरणमा अघि बढाउँदा आवश्यक सहयोग र परियोजनाबारे थप छलफल गर्न भारत तयार रहेको स्पष्ट पार्नुभयो । मिस्रीले नेपाल र भारतबीचको सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै दुवै देश सुखद् र कठिन परिस्थितिमा एकअर्काका साझेदार रहेको बताउनुभयो ।
भोटेकोशी बाढीपछिको कठिन परिस्थितिमा भारतले सहयोग उपलब्ध गराएको पनि उहाँले स्मरण गर्नुभयो । उहाँले दुई देशबीचका विभिन्न महत्वपूर्ण पहल र सहकार्यलाई अघि बढाउन दुवै पक्षका अधिकारीले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।
मिश्रीले भन्नुभयो, ‘धेरै समयदेखि बाँकी रहेका विषयहरू समाधान गर्नुका साथै दुवै पक्षबाट अघि बढाइएका महत्वपूर्ण पहलहरूको कार्यान्वयनमा पनि प्रगति भएको छ । यसका लागि दुवै पक्षका सहकर्मीहरू प्रशंसा र बधाईका पात्र हुनुहुन्छ । यसै सन्दर्भमा हामीलाई निरन्तर सहयोग प्रदान गर्नुभएकोमा तपाईं र तपाईंको टोलीलाई पनि धन्यवाद दिन चाहन्छु । तपाईंले भन्नुभएझैँ, भारत र नेपालबीच विभिन्न दृष्टिकोणबाट विशिष्ट सम्बन्ध रहेको छ । हामी सुख र दुःख दुवै परिस्थितिमा एकअर्काका साझेदार रहँदै आएका छौँ ।
विशेषगरी भोटेकोशीमा आएको बाढी र त्यसपछिको कठिन परिस्थितिमा यो सम्बन्धलाई व्यवहारमा देखाउने अवसर प्राप्त भयो । भारतले सहयोग उपलब्ध गराएको छ । तर उक्त घटनाले नेपालको पूर्वाधारमा ठूलो क्षति र विनाश पु¥याएको हामीले बुझेका छौँ । सधैँझैँ पुनर्निर्माण तथा पुनःस्थापनाको चरणमा आवश्यक सहयोग वा परियोजनासम्बन्धी प्रश्तावहरूमा विचार गर्न भारत तयार रहेको छ । यस विषयमा प्रारम्भिक छलफल भइसकेको छ ।
नेपालका नेतृत्वसँग यसबारे थप विवरणसहित छलफल गर्न हामी इच्छुक छौँ । आजको हाम्रो छलफल प्रधानमन्त्रीको भ्रमणका सन्दर्भमा अघि बढाउनुपर्ने विभिन्न महत्त्वपूर्ण पहलहरूमा केन्द्रित रहनेछ । यसका लागि विस्तृत कार्यसूची तयार गरिएको छ । उक्त विषयमा तपाईंसँग छलफल गर्न म उत्सुक छु ।’ भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका सन्दर्भमा अघि बढाउनुपर्ने विभिन्न पहल तथा एजेण्डाबारे छलफल केन्द्रित हुने उहाँले बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया