काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। गृहमन्त्री सुधन गुरुङले बुधबार केसीलाई नियुक्तिपत्र प्रदान गर्दै प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिनुभएको हो।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले नवनियुक्त आईजीपी केसीलाई नियुक्तिपत्रसहित दर्ज्यानी चिह्न प्रदान गरिएको जानकारी दिनुभएको छ। सरकारको निर्णयअनुसार प्रहरी संगठनको सर्वोच्च नेतृत्वको जिम्मेवारी सम्हाल्न लाग्नुभएका केसीलाई औपचारिक रूपमा दर्ज्यानी चिह्न प्रदान गरिएको हो।
दर्ज्यानी चिह्न प्रदान भएसँगै केसीले नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने प्रक्रिया अघि बढेको छ। उहाँ केही बेरमै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदबहाली गर्ने तयारीमा हुनुहुन्छ।
उहाँले पदबहाली गरेपछि नेपाल प्रहरीको नियमित कामकारबाही, संगठनात्मक व्यवस्थापन तथा सुरक्षा निकायको नेतृत्वसम्बन्धी जिम्मेवारी सम्हाल्नुहुनेछ।
नेपाल प्रहरीको महानिरीक्षक पद संगठनको सर्वोच्च नेतृत्व हो। देशभरका प्रहरी कार्यालयको परिचालन, शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने तथा नागरिकलाई सुरक्षाको अनुभूति दिलाउने जिम्मेवारी प्रहरी संगठनको हो।
नयाँ नेतृत्वले अपराध नियन्त्रण, अनुसन्धान प्रणालीको सुदृढीकरण, प्रहरी कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धि र प्रहरी सेवाप्रति नागरिकको विश्वास कायम गर्ने विषयलाई कसरी अघि बढाउँछ भन्ने चासो पनि रहनेछ।
केसीको पदबहालीसँगै नेपाल प्रहरीको नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया